व्यक्तिगत घटना दर्ता / पञ्‍जीकरण सम्बन्धि बारम्बार सोधिने प्रश्‍नहरू - FAQs

व्यक्तिगत घटना दर्ता तथा पञ्‍जीकरणसँग सम्बन्धित बारम्बार सोधिने प्रश्‍नहरू

FAQs related to Vital Events Registration.

अद्यावधिक सूचना तथा जानकारीको लागि विभागको वेवसाइटमा हेर्नुहोला ।👉 https://donidcr.gov.np/Home/PanjikaranFAQ

स्रोत :  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
_______________________________________________________________________
व्यक्तिगत घटना दर्ता / पञ्जीकरण

१. व्यक्तिगत घटना दर्ता के हो  ?

प्रत्येक व्यक्तिको जन्म, मृत्यु विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराइ लगायतका व्यक्तिगत घटना सम्बन्धित व्यक्तिको स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा दर्ता गर्ने कार्य हो ।

२.  व्यक्तिगत घटना किन अनिवार्य दर्ता गराउनुपर्छ  ?

    Ø व्यक्तिको पहिचानको कानूनी आधार भएकाले, 

    Ø सेवा प्राप्ती गर्ने कानूनी आधार भएकाले,

    Ø नीति निर्माण तथा योजना तर्जुमाकालागि तथ्यांक प्राप्त गर्ने आधार भएकाले ।


३.      व्यक्तिगत घटना दर्ता गर्न कसलाई सूचक राख्ने ?

जन्म दर्ता

बाबु वा आमा र अनुपस्थितीमा परिवारको अठार वर्ष पुगेको व्यक्ति

मृत्यू दर्ता

बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी  र निजहरुको अनुपस्थितीमा परिवारको अठार वर्ष उमेर पुगेको व्यक्ति

विवाह दर्ता

पति पत्नी दुबै

विच्छेद दर्ता

सम्बन्ध विच्छेद भएका सम्बन्धित व्यक्ति मध्ये कुनै एक

बसाइँ सराइ दर्ता

परिवारको अठार वर्ष उमेर पुगेको व्यक्ति

 

४.     सबै प्रकारका व्यक्तिगत घटना कहाँ र कहिले दर्ता गराउनु पर्दछ ?

व्यक्तिगत घटना व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालय वा घटना घटेको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा ३५ दिनभित्र निःशुल्क वा त्यसपछि बिलम्ब शूल्क तिरी दर्ता गराउन सकिन्छ ।

संघ, प्रदेश वा स्थानीय तह अन्तर्गतका सरकारी निकाय वा नेपाल सरकारको स्वामित्वमा रहेका संगठित सस्थाका वहालबाला कर्मचारीले बसाइँ सराइ बाहेक आफू सूचक भएर अन्य व्यक्तिगत घटना दर्ता गर्नुपर्ने भएमा कार्यालयको सिफारिसका आधारमा कार्यालय रहेको स्थानको वडा कार्यालयमा पनि घटना दर्ता गर्न सकिन्छ ।

५.     जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ लागु हुनु भन्दा अघि घटेका घटना दर्ता गराउन सकिन्छ वा सकिदैन ?

जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ लागु हुनु भन्दा अघि घटेका घटना दर्ता गर्न मिल्दैन । यस्ता घटनाको हकमा व्यक्तिले सम्बन्धित वडामा गई वडाध्यक्षबाट घटना प्रमाणित गराउन सक्दछन् ।

६.      व्यक्तिगत घटना दर्ता गर्न किन सूचकको नागरिकता आवश्यक पर्दछ ?

सबै प्रकारका व्यक्तिगत घटना दर्ता गर्न सूचक आधिकारिक र जिम्मेवार हुनुपर्ने भएकाले सूचकको स्पष्ट परिचय, उमेर र प्रमाणका रुपमा नागरिकता आवश्यक पर्छ ।

७.      व्यक्तिगत घटना दर्ताको अभिलेख नभएमा कसरी प्रतिलिपि दिन सकिन्छ ?

घटना दर्ताको अभिलेख फेला नपरेको वा नष्ट भएको अवस्थामा सो घटना दर्ताको सूचना फाराम वा प्रमाणपत्र अन्यत्र कुनै निकायमा रहेमा सो को आधारमा अभिलेख खडा गरी प्रतिलिपि जारी गर्न सकिन्छ । वा सूचना फाराम, प्रमाणपत्र वा अन्य कुनै प्रमाण प्राप्त नभएमा व्यक्तिगत घटना दर्ताको नयाँ सूचना फाराम भर्न लगाई सूचना फाराममा सूचकलाई सनाखत गर्न लगाई सो को आधारमा अभिलेख खडा गरी प्रमाणपत्र जारी गर्न सकिन्छ ।

८.     व्यक्तिगत घटना दर्ता गराउन स्थानीय तह तथा वडा कार्यालयको दायित्व के रहन्छ ?

सबै प्रकारका व्यक्तिगत घटना दर्ता गराउँदा व्यक्तिलाई सूचना फाराम भर्न लगाउने, आवश्यक कागजपत्र माग गरी रुजु गर्ने, नियमानुसार घटना दर्ता गर्ने, अभिलेख राख्ने तथा प्रमाणपत्र जारी गर्ने दायित्व स्थानीय तह तथा वडा कार्यालयको हुन्छ ।स्थानीय तहले घटना दर्ताको महत्व, प्रक्रिया र विलम्ब शुल्कबारे पनि नागरिकलाई जानकारी गराउनु पर्छ ।

९.      व्यक्तिगत घटना दर्ता गर्ने सूचक वा व्यक्तिको कर्तव्य के रहन्छ ?

व्यक्तिगत घटना दर्ता गर्ने व्यक्ति वा सूचकले सूचना फाराममा दिईएको विवरण सही रुपमा भर्ने, आवश्यक कागजपत्र पेश गर्ने, ३५ दिनभित्रै घटना दर्ता गराउने  र प्राप्त प्रमाणपत्रमा भएका विवरण सही रुपमा जाँच गरेर मात्र प्रमाणपत्र बुझ्ने जस्ता कार्य व्यक्तिको कर्तव्य अन्तर्गत पर्दछन् ।

१०.  झुट्टा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेमा के हुन्छ ?

कुनै पनि व्यक्तिले झुट्टा विवरण पेश गरी दर्ताको प्रमाणपत्र लिएको पाईएमा वा प्रमाणित भएमा ऐनको  दफा ४१ बमोजिम सजाय हुन्छ । 

११.  नेपालमा रहेका विदेशीहरुले कसरी घटना दर्ता गर्न सक्छन् ?

नेपालमा रहेका विदेशी नागरिकले नेपालमा घटेका व्यक्तिगत घटना दर्ता गर्नु परेमा राहदानी वा राष्ट्रियता खुल्ने कागजात लगायत व्यक्तिगत घटना दर्ताका लागि आवश्यक अन्य कागज सहित आफू बसोबास गरेको स्थानमा घटना दर्ता गर्न सक्छन् । नेपालमा कुटनीतिक नियोग भएका मुलुकको नागरिक भए त्यस्तो नियोगको सिफारिस समेत आवश्यक पर्दछ ।   

१२.  कुनै व्यक्तिको घटना दर्ता गर्दा पात्रोमा सो महिनामा नभएको दिन राखि घटना दर्ता भएमा के गर्ने ?

कुनै व्यक्तिको घटना दर्ता गर्दा पात्रोमा सो महिनामा नभएको दिन राखि घटना दर्ता भएको छ भने उक्त महिनाको अन्तिम दिन राखि प्रतिलिपि जारी गर्न सकिन्छ ।

१३.  जन्म दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

Ø आमा वा बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

Ø सूचकको नागरकिता प्रमाणपत्रको प्रतिलिपि,

Ø स्वास्थ्य संस्था / अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

Ø घरमा जन्म भएको हकमा खोप कार्ड

Ø बाबु बेपत्ता वा ठेगान थाहा नभएको भए सो सम्बन्धी प्रहरी प्रतिवेदन

Ø थप बुझ्नु परेमा वडा सर्जिमिन मुचुल्का वा प्रहरी प्रतिवेदन ।

१४.  जन्म दर्ता गर्न बाबु आमाको विवाह दर्ता चाहिन्छ कि चाहिदैन ?

बालबालिकाको जन्म दर्तामा बुबा आमाको विवाह दर्ता अनिवार्य छैन ।

१५.  स्वतः वदर हुने विवाहको परिणामबाट जन्मिएका बच्चाको जन्म दर्ता कसरी गर्ने ?

बदर योग्य र स्वतः बदर हुने विवाहको परिणामबाट बच्चा जन्मिसकेको अवस्थामा आमा बाबु दुवैको उपस्थितिमा आधिकारीक सूचकको सूचना अनुसार जन्म दर्ता गराउन सकिन्छ ।

१६.  एकल महिलाबाट जन्मेको बच्चाको थर र ठेगाना कसरी कायम गर्न सकिन्छ ?

एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्म दर्ता गर्दा बच्चा जन्मको बखत कायम रहेको आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गर्न सकिन्छ ।

१७.  विवाह अघि बच्चा जन्मिएको एकल महिलाले विवाह गरिसकेको अबस्थामा बच्चाको जन्म दर्तामा ठेगाना कहाँको राख्न सकिन्छ ?

विवाह अघि बच्चा जन्मिएको एकल महिलाले विवाह गरी बच्चा आमासंगै बसेको अबस्थामा आमाकै ठेगाना राख्ने र बच्चा मावलिमा नै छ भने मावलिको ठेगाना राखि बच्चाको जन्म दर्ता गर्न सकिन्छ ।

१८.  बच्चाको बुबाको ठेगान पत्ता नलागेमा जन्म दर्ता कसरी गर्ने ?

बच्चाको बाबुको ठेगान पत्ता नलागेमा सो सम्बन्धी प्रहरी प्रतिवेदन र अन्य आवश्यक कागजातको आधारमा जन्म दर्ता गराउन सकिन्छ ।

१९.  आमा वा बुबा विदेशी भएको हकमा जन्म दर्ता कसरी गर्ने ?

बच्चाको आमा विदेशी भई बुबा नेपाली भएमा आमा विदेशी भएको प्रमाणसहित बच्चाको बुबाको नेपाली नागरिकताको आधारमा बाबु सूचक रहेर जन्म दर्ता गराउन सकिन्छ । यदि आमा बुबाको विवाह दर्ता भएको वा आमाको समेत  नागरिकता भएमा सोही अनुरुप आमा सूचक रहेर पनि जन्म दर्ता गराउन सकिन्छ ।

बच्चाको बाबु विदेशी भएमा विदेशी भएको प्रमाणसहित घटना घटेको स्थानमा बुबा वा आमा सुचक बसेर जन्म दर्ता गर्न सकिन्छ ।

२०.  अनाथ वा असहाय बालबालिकाको जन्म दर्ता कसरी गर्ने ?

अनाथ तथा असहाय बालबालिकाको हकमा प्रचलित कानुन बमोजिमको संरक्षक वा माथवरले सूचक बनेर वा त्यस्तो व्यक्ति नभएमा सम्बन्धित वडाको वडाध्यक्ष सूचक बनेर जन्म दर्ता गर्न सकिन्छ ।

२१.  धर्मपुत्र वा धर्मपुत्री दर्ता कसरी गर्ने ?

धर्म बाबु वा धर्म आमाले दर्ता गर्न खोजेको अवस्थामा अदालतको निर्णयको प्रतिलिपि समेत संलग्न गरी प्रचलित कानुन बमोजिम धर्म बाबु वा धर्म आमा सूचक भएर दर्ता गर्न सकिन्छ । दुवै जनाले धर्मपुत्र वा धर्मपुत्री राख्न खोजेको हो भने दुवै जना उपस्थित भई नियमानुसार सूचना दिई दर्ता गराउन सकिन्छ ।

२२.  विदेशमा जन्मिएको बच्चाको जन्म दर्ता कसरी गराउने ?

विदेशमा बच्चा जन्मिएमा सम्बन्धित देशमा रहेको नेपाली दुतावासबाट उक्त बच्चा जन्मिएको प्रमाणपत्र प्रमाणित गरी नेपाल आएको ३५ दिनभित्र आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा गई दर्ता गराउन सकिन्छ।

२३.  कारागारमा जन्मिएको बच्चाको जन्मदर्ता कसरी गर्ने र कस्ता कागजात आवश्यक पर्दछ ?

प्रचलित कानुन बमोजिम कारागारमा सजाय भोगिरहेका महिलाबाट बच्चा जन्मिएमा आमाले भरेको सूचना फाराम कारागार प्रमुखले प्रमाणित गरी सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पठाई सो वडा कार्यालयबाट जन्म दर्ता गराउन सकिन्छ ।

२४.  दलित बालबालिकाको जन्म दर्ता गर्दा सूचकले बालबालिकाको थरमा बाबु आमाको थर भन्दा फरक थर राखी दर्ता गर्न सकिन्छ कि सकिदैन ?

दलित बालबालिकाको बाबु आमाको भन्दा फरक थर राखी जन्म दर्ता गर्न आएको खण्डमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएका सम्बन्धित दलित जाति भित्रको थरमध्येबाट सूचना फाराममा उल्लेख गरिए अनुसारको थर राखी जन्म दर्ता गर्न सकिन्छ । 

२५.  मृत्यु दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

Ø मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा), नभएमा परिचय खुल्ने कागजात

Ø सूचकको नागरिकता

Ø मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशआज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस

Ø स्वास्थ्य सस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण ।

२६.  मृत्यु दर्ता किन गर्नुपर्दछ ?

व्यक्तिको मृत्यु भएको प्रमाण कानुनी र प्रशासनिक प्रयोजनका निम्ति पेश गर्न, चल अचल सम्पत्तिको हक हस्तान्तरण वा अधिकार प्रत्यायोजन लगायतका कार्य गर्न मृत्यु दर्ता गराउनु पर्छ । सामाजिक सुरक्षा भत्ता लिन, विधवा प्रमाणित हुन तथा राज्यबाट प्रदान गरिने अन्य सेवा सुविधा लिन पनि मृत्यु दर्ता गर्नुपर्दछ ।

२७.  विवाह दर्ता भनेको के हो ?

विवाह दर्ता भन्नाले प्रचलित कानुन बमोजिम २० वर्ष उमेर पूरा भई वैवाहिक सम्बन्ध कायम भएका पुरुष र महिलाले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पति पत्नी स्वीकार गरी दर्ता गरिएको घटना दर्तालाई बुझिन्छ ।

२८.  विवाह दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

Ø दुलाहा दुलहीको नागरिकता प्रमाणपत्र वा राष्ट्रियता खुल्ने कागजात

Ø दुलाहा वा दुलही दुबैको हालै खिचेको अटो साईजको २/२ प्रति फोटो

Ø कुनै एकजना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा

Ø यदि अदालतबाट नाता कायम भएको फैसला / आदेश भएमा वा अदालतको पत्रबाट विवाह कायम भएमा दर्ता विवाह सरह मान्यता दिइ विवाह दर्ता गर्न सकिन्छ ।

२९.  विवाह दर्ताको सूचक को को हुन्छन् ?

विवाह दर्ता गर्न पति पत्नी दुवै सूचक हुनुपर्छ । यदि दुई मध्ये कुनै एक नेपालमा नभएका कारण वडा कार्यालयमा उपस्थित हुन नसकेको अबस्थामा अनुपस्थित भएको पक्षले आफू रहेको देशको दुतावास मार्फत अधिकृत वारेसनामा दिई विवाह दर्ता गराउन सकिनेछ ।

३०.  पति वा पत्नीले विवाह दर्ता गर्न ईन्कार गरेमा कसरी दर्ता गर्ने ?

पति वा पत्नी मध्ये कसैले विवाह दर्ता गर्न ईन्कार गरेमा अदालतबाट नाता कायम भएको फैसला वा आदेशका आधारमा  पति वा पत्नी मध्ये एकजना सूचक बसी घटना दर्ता गर्न सकिन्छ ।

३१.  विवाह दर्ता गर्नु पूर्व पति वा पत्नीको मृत्यु भएमा के गर्ने ?

विवाह दर्ता गर्नु पूर्व पति वा पत्नी मध्ये कुनै एकको मृत्यु भैसकेको हकमा विवाह दर्ता प्रमाण पत्र जारी गर्न मिल्दैन । वडा अध्यक्षबाट प्रचलित कानुन अनुसार विवाह प्रमाणित गराउनु पर्दछ ।

३२.  बाल विवाह वा बहु विवाह दर्ता किन हुदैन ?

मुलुकी देवानी संहिता २०७४ अनुसार मिति २०७५ भाद्र १ गते पछिको बाल विवाह र बहु विवाह कानुनतः स्वत बदर हुने भएकाले दर्ता गर्न मिल्दैन । यद्यपि मिति २०७५ भाद्र १ गते भन्दा अगाडिको बाल विवाह र बहु विवाह भएको प्रमाणित भएमा दर्ता गर्न मिल्छ ।

३३.  नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेमा कसरी विवाह दर्ता गर्ने ?

नेपाली नागरिकले विदेशी नागरिकसँग विदेशमा विवाह गरेको हकमा विवाह भएको मुलुकको प्रचलित कानुन वमोजिम विवाह भएको दर्ता प्रमाणपत्र र कन्सुलर सेवा विभाग वा नेपालस्थित सम्बन्धित मुलुकको कुटनीतिक नियोग वा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट भएको प्रमाणिकरण सहित विवाह दर्ता गर्न सकिनेछ ।

नेपाली नागरिकले विदेशी नागरिकसँग नेपालमा विवाह गरेको हकमा अदालतबाट दर्ता विवाह गरेको प्रमाण हेरी महिलाको स्थायी ठेगाना वा वडा कार्यालयमा पति पत्नी दुवै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गएर विवाह दर्ता गर्न सकिनेछ ।

तर नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिक बिच भएको विवाहको हकमा विवाह भएको यकिन हुने प्रमाण राखी सूचना दिएमा विवाह दर्ता गर्न सकिन्छ ।

३४.  एकपटक विवाह दर्ता भैसकेका महिला वा पुरुषको पुनः विवाह दर्ता गर्न मिल्छ कि मिल्दैन ?

प्रचलित कानुन बमोजिम पति वा पत्नीले अदालतबाट अंशवण्डा गरी भिन्न भएका पुरुष वा महिलाले अदालतले दिएको आदेश सहितको आवश्यक कागजात सहित दोश्रो विवाह दर्ताका लागि निवेदन दिएको अवस्थामा पुनः विवाह दर्ता गर्न सकिन्छ ।

३५. बसाइँ सराइ दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

जाँदा

Ø लगत हस्तान्तरण फाराम

Ø बसाइँ सराइ गरेर जाँदा सूचकको नेपाली नागरिकताको प्रमाणपत्र

Ø १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र १६ वर्ष भन्दा माथिका नागरिकको हकमा नागरिकता ।

Ø परिवारका सम्पूर्ण सदस्यको सबै व्यक्तिगत घटना दर्ता गरेपछि मात्र बसाइँ सराइ दर्ता गर्नुपर्छ ।

आउँदा

Ø सरी आएको लगत हस्तान्तरण फारामको सक्कल प्रति

Ø बसाइँ सराइ गरेर आउँदा घरमुली वा सूचकको नागरिकता

३६.  बसाइँ सराइ दर्ता नगरी बेवास्ता गरेमा के हुन्छ ?

बसाइँ सराइ दर्ता नगरी गएमा वा आएमा, नागरिक बसोबास गर्ने स्थानमा राज्यबाट दिइने सेवा सुविधाबाट बञ्चित हुन सकिन्छ ।

३७.  परिवारमा १८ वर्ष उमेर पुगेको एक जना सदस्यको मात्र बसाइँ सराइ गर्न मिल्छ वा मिल्दैन ?

परिवारमा १८ वर्ष उमेर पुगेको कुनै एक सदस्यको मात्र बसाइँ सराइ गर्न मिल्छ तर सो व्यक्ति र निजको परिवारको सबै सदस्यसँग सम्बन्धित सबै घटना अनिवार्य दर्ता भएको हुनुपर्नेछ र स्वयं व्यक्ति सूचक हुनुपर्छ ।

३८.  परिवारका सदस्य मध्येका नाबालकको बसाइँ सराइ गर्न छुटेमा नावालकको बसाइँ सराइ कसरी गर्न सकिन्छ ?

बसाइँ सराइ दर्ता गर्दा परिवारको सदस्यमध्ये सूचक बस्न योग्य नभएको व्यक्ति (नावालक)  छुटेको भएमा एक वर्षभित्र भएमा नियमानुसार संसोधन गर्न र संसोधन गर्ने अबधि समाप्त भएको भए बसाइँ सराइ गएको घरमुलि वा १८ वर्ष उमेर पुगेका परिवारको सदस्य सूचक राखी नयाँ बसाइँ सराइ दर्ता गर्न सकिन्छ ।

३९.  सम्बन्ध विच्छेद दर्ता गर्न के कस्ता कागजपत्र आवश्यक पर्दछन्?

Ø सूचकको नागरिकता प्रमाणपत्र,

Ø अदालतबाट सम्बन्ध विच्छेद भएको फैसला,

Ø विदेशमा सम्बन्ध विच्छेद भएको हकमा त्यहाँको प्रचलित कानुन अनुसार सम्बन्ध विच्छेद भएको प्रमाणलाई कन्सुलर सेवा विभागबाट प्रमाणिकरण गरेको सक्कल प्रति

४०.  सम्बन्ध विच्छेद गरी आमासँग रहेका बच्चाको जन्म दर्ता गर्दा आमाको स्थायी ठेगानामा दर्ता गर्न मिल्छ या मिल्दैन ?

सम्बन्ध विच्छेद भई आमासँग रहेको बच्चाको जन्म दर्ता आमाको स्थायी ठेगानामा गर्न मिल्छ तर बाबुको स्थायी ठेगानामा जन्म दर्ता नभएको एकिन गर्नुपर्ने हुन्छ ।

४१.  पत्नी रहेको स्थायी ठेगानामा सम्बन्ध विच्छेद दर्ता गर्न मिल्छ वा मिल्दैन?

विच्छेद पश्चात पत्नी रहेको स्थायी ठेगानामा दर्ता गर्न मिल्दछ । तर पतिको स्थायी ठेगानाको पञ्जिकाधिकारी कार्यालयमा सम्बन्ध विच्छेद दर्ता नभएको एकिन गर्नुपर्दछ ।

नोटः व्यक्तिगत घटना दर्ताको विषयमा थप जानकारी आवश्यक भएमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ तथा नियमावली २०७७ (पहिलो संसोधन) अध्ययन गर्न अनुरोध गर्दछौं ।

व्यक्तिगत घटना दर्ता / पञ्जीकरण – नेपाली नियोग सम्बन्धि 

१.     हाल जन्म र मृत्यु दर्ता हुने नेपाली नियोगहरू कुन कुन हुन?

  • राजदूतावास, बेजिङ्ग, चिन,
  • नेपाली राजदूतावास, टोकियो, जापान,
  • नेपाली राजदूतावास, पेरिस, फ्रान्स,
  • नेपाली राजदूतावास, दोहा, कतार,
  • नेपाली राजदूतावास, मड्रिड, स्पेन,
  • नेपाली राजदूतावास, लण्डन, यु. के.,
  • नेपाली राजदूतावास, क्यानबेरा, अस्ट्रेलिया,
  • नेपाली राजदूतावास, वासिङ्गटन डिसि, अमेरिका,
  • नेपाली राजदूतावास, बर्लिन, जर्मनी,
  • नेपाली राजदूतावास, क्वालालम्पुर, मलेसिया,
  • नेपाली राजदूतावास, रियाद, साउदिअरेबिया,
  • नेपाली राजदूतावास, सिवल, दक्षिण कोरिया,
  • नेपाली राजदूतावास, अबुधाबी, युनाईटेड अरब ईमिरेट्स,
  • नेपाली राजदूतावास, बैंकक, थाईल्याण्ड र
  • नेपाली राजदूतावास, ओटवा, क्यानडा
  • क्रमशः अन्य नियोगहरुमा बिस्तार गरिनेछ ।

२.     कुन- कुन घटना नेपाली नियोग मार्फत दर्ता हुन्छन्?

हाल नेपाली नियोग मार्फत जन्म दर्ता र मृत्यु दर्ताको शुरुवात गरिएको छ ।

३.      कसको घटना दर्ता हुन्छ?

सम्बन्धित देशमा रहेका नेपाली बाबु आमाबाट जन्म भएका बच्चा र सम्बन्धित देशमा मृत्यु भएका नेपाली नागरिककोमात्र घटना दर्ता हुन्छ ।

४.     घटना दर्ताको सूचना कसले दिने?

जन्मको हकमा सम्बन्धित देशमा रहेका बच्चाको बाबु वा आमा वा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले,

मृत्युको हकमा बाबु, आमा, पति, पत्नी, छोरा वा छोरीले वा निजहरुको अनुपस्थितिमा परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले ।

५.     घटना दर्ताको सूचना कसरी दिने?

कानुनी रुपमा सूचना दिन योग्य व्यक्ति स्वयं  तोकिएको नेपाली नियोगमा उपस्थीत भएर वा अनलाईन पोर्टल https://public.donidcr.gov.np/ मार्फत (अनलाईन पोर्टलको लिङ्क विभागको वेबसाईट https://donidcr.gov.np बाट पनि प्राप्त गर्न सकिनेछ ।)

६.      नेपालमा दर्ता भएका घटना दर्ताको नेपाली नियोगबाट संशोधन वा प्रातिलिपि निकाल्न सकिन्छ?

हाल लाई यो सुविधा उपलब्ध छैन। सम्बन्धित नियोगमा दर्ता भएका घटना दर्ताको मात्र संशोधन वा प्रतिलिपि निकाल्न सकिने व्यवस्था रहेको छ ।

७.      जन्म र मृत्युको सूचना फाराम कहाँबाट प्राप्त गर्न सकिन्छ?

विभागको वेबसाईट https://donidcr.gov.np/Download/News?id=5&Did=2 वा सम्बन्धित नियोगको वेबसाईटबाट प्राप्त गर्न सकिनेछ ।

८.      घटना दर्ताको प्रमाणपत्र कसरी प्राप्त गर्न सकिन्छ?

अनलाईन सूचना फाराम भरी संलग्न गर्नुपर्ने कागजातको सक्कल प्रति सहीत सूचक नेपाली नियोगमा उपस्थित हुनु पर्नेछ र नेपाली नियोग स्थित स्थानीय पञ्जिकाधिकारिले आवश्यक विवरण रुजु गरी प्रामाणपत्र उपलब्ध गराउनेछन् ।

अनलाईन मार्फत सूचना फाराम भर्न असमर्थ भएमा संलग्न गर्नुपर्ने कागजात र सूचना फारामको सक्कल प्रति सहित नेपाली नियोगमा उपस्थित भई प्राप्त गर्न सकिनेछ ।

९.       संलग्न गर्नुपर्ने कागजातहरु के के हुन?

        जन्म दर्ता

        •    बाबु वा आमाको नागरिकता वा राहादानी  प्रमाणपत्रको प्रतिलिपि,

        •    स्वास्थ्य संस्था/ अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी प्रमाण,

        •    घरमा जन्म भएको भए पहिलो खोप दिएको प्रमाण र

        •    जन्मको सूचना फाराम ।

        मृत्यु दर्ता

        •    मृतकको नागरिकता वा राहादानी प्रमाणपत्रको प्रतिलिपि (बनेको भएमा),

        •    सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

        •    स्वास्थ्य संस्था/अस्पतालमा मृत्यु भएको भए उक्त संस्थाबाट जारी मृत्यु  प्रमाण र

        •    मृत्यु दर्ताको सूचना फाराम ।

१०.  घटना दर्ता गर्दा शुल्क तिर्नु पर्दछ?

घटना घटेको ३५ दिन भित्र दर्ता गर्दा कुनै पनि शुल्क तिर्नु पर्दैन । ३५ दिन भन्दा ढीला हुन गएमा २५ अमेरिकि डलर वा सो बराबरको स्थानीय मुद्रा बिलम्ब शुल्कबापत तिर्नुपर्ने हुन्छ।

११.  संशोधन वा प्रतिलिपिको शुल्क लाग्छ वा लाग्दैन?

राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण नियमावली, २०७७ को अनुसूची-३ बमोजिम ३० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा बराबर शुल्क लाग्दछ।

१२.  नेपाली नियोगमा दर्ता भएको व्यक्तिगत घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पर्दछ ?

एक पटक नेपाली नियोगमा दर्ता भएको घटना दर्ता पुनः नेपालमा दर्ता गर्नु पर्दैन ।

SuBaRnA

Hello, I am SUBARNA MAJHI.

Post a Comment

"Feel free to share your thoughts and feedback about the NepBhajans. 🙏"

Previous Post Next Post