बैशाख २ गते, नयाँ वर्ष २०८२ को उत्साहपुर्ण अवसरमा म र मेरा साथीहरू राम प्रसाद राजवंशी र मनोज श्रेष्ठ मिलेर सँगै घुम्न निस्किएका थियौँ । हामी मुख्य रूपमा सालबारी घुम्न गएका थियौँ र फर्कने क्रममा अर्जुनधारा-धाम पुग्ने सौभाग्य पनि प्राप्त गर्यौँ । मेरा साथीहरू दुवैजना पहिले पनि त्यहाँ आइसकेको भएपनि म भने पहिलोपटक पुगेको थिँए ।

उत्तर दिशातर्फ रहेको मुल प्रवेशद्वार देखिएको मुल मन्दिर, पोखरीको तस्बिर

दायाँतर्फबाट राम प्रसाद राजवंशी, मनोज श्रेष्ठ र सुवर्ण माझी
पूर्वका पशुपतीनाथका रुपमा परिचित अर्जुनधारा-धाम
पूर्वि नेपालको कोशी प्रदेश अन्तर्गत झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. ७ मा अवस्थित एक प्रसिद्ध धार्मिक तथा प्राकृतिक स्थल हो । विर्तामोडबाट लगभग ५ कि.मी. उत्तरको गए पछि शनिश्चरे बजारबाट पश्चिमतर्फ करीब ६ मिनट जति हिँडेपछि अर्जुनधारा जलेश्वर धाममा पुग्न सकिन्छ । यस पुण्य भूमिलाई जलेश्वर धामको नामबाट पनि चिनिन्छ ।

धाम परिसर भित्र प्रवेश गर्ने मुख्य प्रवेशद्वार

पंचधातुबाट निर्मित ५ वटा धाराहरू

शिवलिङ्ग
महाभारत कथाका अनुसार पाँच पाण्डवहरु १२ वर्ष बनवास पछिको १ वर्षे गुप्तवास बस्न विराट राजाकोमा गएका थिए, त्यही अवस्थामा कौरव सेनाहरुले विराट राजाका गाईहरु हरण गरेर लगेपछि वृहन्नला (नर्तकी) को भेषमा वसेका अर्जुनले विराट राजकुमार उत्तरकुमारको सारथी भएर गएका तर उक्त समयमा उनीहरुको गुप्तवास सकिएको हुनाले र उत्तरकुमार युद्ध गर्न डराएर भागेपछि बृहन्नला (अर्जुन) ले उत्तरकुमारलाई सारथी वनाई कौरवहरु संग युद्ध गरेर जितेपछी गाइहरु सहित विराट राज्य तर्फ फर्कदै गर्दा यो स्थानमा आएपछि गाइहरु तिर्खाले ढल्न थाले । कहि कतै पानीक नभएको ले अर्जुनले धर्तीमा बाँड हानी पानी निकालेर गाईलाई तृप्त गराएका थिए । अर्जुन विराट राज्यमा फर्किसकेपनि यो क्षेत्रको पानी सुकेन र स्थानीयले त्यसलाई संरक्षण गरि उपयोग गर्न थाले र त्यसलाई सवैले चिन्ने गरि अर्जुनधारा नामाकरण गरे त्यही क्षेत्रमा ऐले ५ वटा धाराहरु निर्माण गरिएको छ र जलेश्वर धाम स्थापना गरिएको छ । यहाँ निरन्तर धाराको रूपमा पानी बगिरहेको हुनाले यसलाई अर्जुनधारा धाम भनिएको हो भन्ने किवदन्ती छ ।

मुल मन्दिर तथा अर्जुनको प्रतिमा

पोखरीका विभिन्न रङ्गका माछाहरू

पश्चभागबाट देखिने मन्दिर, पोखरी लगायतको दृश्य
जाँड रक्सी र धुम्रपान समेत निषेधित गरिएको अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी छ भने यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाईरहेको मूर्ति स्थापित गरिएको छ र पोखरीको पूर्वि भागमा प्राचिन वास्तुकलायुक्त प्यागोडाशैलीमा निर्मित शिवको मूल मन्दिर रहेको छ । सातकुने उक्त पोखरीको दक्षिण तर्फ पंचधातुबाट निर्मित ५ वटा धाराहरू छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रंगी विरंगी माछाहरू पाइन्छ । यसबाहेका धाम परिसरमा सूर्य कुण्ड, यज्ञशाला, गणेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, हनुमान मन्दिर, कालीनाग मन्दिर, शनि मन्दिर, मोक्षेश्वर शिवलिङ्ग, धान्याञ्चल, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालय, अर्जुनधारा संस्कृत वेद विद्यापीठ, पुष्पलाल स्मृति सन्त निवास, शिवकुटी विश्रामालय, श्रवण हल, धर्मशाला, किरियाशाला, छात्रावास, पुस्तकालय, गौशालालगायत छन् ।
यो धाममा शिव मन्दिर, विष्णु मन्दिर र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहन्छ । विशेषगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे सङ्क्रान्ति आदि पर्वमा अत्यन्त घुइँचो हुन्छ । अर्जुनधारामा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ, जुन अवसरहरूमा देश भित्रका र भारतबाट समेत भक्तजनहरूआउने गर्दछन । २०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौं स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरूले भ्रमण गर्ने गरेको पाइन्छ ।

पोखरीको बिचभागमा रहेको अर्जुनको मुर्ति

श्री हनुमान मन्दिर
सालबारी घुमेर फर्कने क्रममा हामी करिब दिउँसो ३/४ बजेको समयमा अर्जुनधारा-धाम पुगेका थियौँ । यसपटक म पहिलो पटक मन्दिर पुगेको थिएँ, र मन्दिर परिसरमा पसेपछि एउटा अनौठो शान्ति र आध्यात्मिक ऊर्जा महसुस भयो । प्यागोडा शैलको शिवको मुल मन्दिर अति दिब्य लाग्यो साथै वरपरको हरियाली, स्वच्छ वातावरण र बहिरहेको शीतल धारा अत्यन्तै आकर्षक लाग्यो । हामी त्यहाँ छोटो समयका लागि गएका थियौँ, त्यसैले हामीले कुनै पूजा-अर्चना गरेनौँ, बस शुद्ध मनले भगवानलाई नमन गर्यौँ । त्यहाँको उर्जामय स्थानहरूको अवलोकन गर्दा गर्दै करीब एक घण्टा जति समय बितिसकेको पनि पत्तो भएन । हाम्रो यात्रा एउटा साधारण घुमघाम जस्तै लागे पनि, अर्जुनधारा-धाम पुगेपछि यात्रा एकदमै अर्थपूर्ण र ऊर्जावान बन्यो । त्यहाँको ऐतिहासिक एवम आध्यात्मिक उर्जाले हामी आत्मिक रूपमा आनन्दित र उर्जावान भइ आ-आफ्नो घरतिर फर्कियौँ ।

यदि तपाईं पनि झापा घुम्न आउँदै हुनुहुन्छ भने, अर्जुनधारा-धामको दर्शन अवश्य गर्नुहोस् । यो स्थलले तपाईंको मनमा एक अनौठो आनन्द र शान्तिको अनुभूति गराउनेछ ।
हर हर महादेव! जय अर्जुनधारा धाम! 🙏🌷❣️