"भजन" शब्द संस्कृत शब्द हो जसले 'भक्ति' वा 'पूजा' को भावना लिएर गाइने गीत वा कीर्तन भनि बुझाउँदछ । यो शब्द विशेषगरी पौराणिक और धार्मिक साहित्यमा प्रयोग हुन्छ । भजन भनेको एक प्रकारको धार्मिक गीत हो, जसमा कुनै देवी वा देवताको प्रशंसा, स्तुति वा भक्ति व्यक्त गरिन्छ । भजनलाई, विभिन्न साधना गर्ने व्यक्ति हरूले विभिन्न देवता, परमात्मा, वा अन्य आध्यात्मिक अस्तित्वहरूलाई पूजा गर्नका लागि सुन्दर स्वर र शब्दहरूमा गाइएको गीत हो भनेर पनि बुझ्न सकिन्छ । भजनहरू उपासना, पूजा, आरती, यज्ञ आदि धार्मिक अनुष्ठान, बिभिन्न धार्मिक / सांस्कृतिक चाडपर्व, अवसर हरुमा वा विभिन्न किसिमका साधनाको क्रममा गाइने गरिन्छ । भजनहरू धार्मिक तथा आध्यात्मिक आयाममा रहेका हुन्छन् । यस्तो भजनले श्रद्धालुहरूलाई ध्यान, भक्ति, र आत्मा अनुभूतिमा मद्दत गर्दछ ।
सामान्यतया भजनहरूमा शान्ति, प्रेम, धन्यवाद, र समर्पणका भावनाहरू समावेश भएका हुन्छन । भजनमा विचारशीलता र आत्मिकतालाई प्रोत्साहित गर्ने सन्देशहरू पनि समावेश गरिएका हुन्छन् । संगीतका विभिन्न विधाहरूमध्ये भजन पनि एक मुख्य विधा हो । भजनका विभिन्न प्रकारहरू छन्, जस्तै निर्गुण भजन, सगुण भजन, श्रीकृष्ण भजन, शिव भजन, राम भजन, दुर्गा भजन, गणेश भजन, हनुमान भजन, साई भजन, गुरू भजन, आदि । मिराबाई, सुरदास, तुलसीदास, कबिर, रसखान नानक तुकाराम आदि भजनका बहुतै प्रसिद्ध रचनाकारहरू हुन् ।